April 13, 2008

डिजिटल क्यामेरा किन्दा ध्यान पुर्‍याउनु पर्ने कुराहरू

Filed under: Tips — admin @ 9:30 pm

डिजिटल क्यामेराको मूल्य दिन प्रतिदिन घट्दै गइरहेको छ। यस्ता क्यामेराको हरेक नयाँ मोडेलमा क्यामेरा तथा यसले खिच्ने फोटोको गुणस्तर भने बढ्दै गइरहेको अवस्थामा पुरानो रिल हाल्नु पर्ने क्यामेरालाई डिजिटल क्यामेराले पुरै विस्थापित गर्दै गइरहेको कुरालाई नकार्न सकिन्न। यदि तपाइ पनि डिजिटल क्यामेरा किन्ने सोचमा हुनुहुन्छ भने सम्भव छ, तपाईलाई पक्कै पनि यस्ता क्यामेरामा रहेका विभिन्न सुविधा तथा प्रविधिले अलमल्ल पारेको हुनुपर्छ। आज हामी डिजिटल क्यामेरा सम्बन्धित केही प्राविधिक पक्ष र यस्ता क्यामेरा किन्दा ध्यान पुर्‍याउनु पर्ने कुराहरूको बारेमा चर्चा गर्दैछौ।मेगापिक्सेल
डिजिटल क्यामेरा किन्दा सबैभन्दा पहिले आउने पक्ष भनेको क्यामेराको मेगापिक्सेल हो। यस्ता डिजिटल क्यामेराले खिच्ने फोटोहरू स‍-साना विन्दुहरूले बनेका हुन्छन् जसलाई पिक्सेल भन्ने गरिन्छ। विभिन्न रङ्गका यस्ता लाखौं पिक्सेलहरू मिलेर एउटा ठूलो फोटो बन्ने गर्दछ। साधारण रुपमा हेर्ने हो भने जति धेरै यस्ता पिक्सेलहरू भयो, फोटो त्यति नै खाँदिलो तथा राम्रो देखिने गर्दछ। त्यसैकारणले गर्दा पनि धेरै डिजिटल क्यामेराले मेगापिक्सेललाई महत्व दिने गर्दछन् र धेरै खरिदकर्ताहरूले डिजिटल क्यामेरा किन्दा बढि मेगापिक्सेल भएको क्यामेरालाई प्राथमिकता दिने गर्दछन्। नयाँ नयाँ क्यामेरामा पनि बढि भन्दा बढि मेगापिक्सेल भएको हुने गर्दछ। अचेल बजारमा ६ देखि ८ मेगापिक्सेलका क्यामेराहरू बढि चलनचल्तीमा रहेको पाइएको छ।

क्यामेराको मेगापिक्सेलले क्यामेरा तथा यसले खिच्ने फोटोको गुणस्तर केही मात्रामा निर्धारण गर्ने भए तापनि बढि मेगापिक्सल भएको क्यामेरा नै राम्रो भन्ने कदापि हैन। डिजिटल क्यामेराले खिच्ने फोटोलाई क्यामेराको मेगापिक्सेलले बाहेक अन्य धेरै कुराहरूले फरक पार्ने गर्दछ। हामीले खिच्ने साधारण फोटोहरुका निम्ति ५ मेगापिक्सेल काफी हुने गर्दछ। त्यसैले सामान्य फोटोहरू खिच्नका निम्ति ५ देखि ६ मेगापिक्सेल भन्दा बढिको क्यामेरा किन्नु पैसाको बर्बादी मात्र हुने गर्दछ।

क्यामेराको प्रकार
डिजिटल क्यामेरा पनि विभिन्न प्रकारका हुने गर्दछन्। सर्वसाधारण रुपमा प्रयोग हुने सानो आकारका क्यामेरालाई point and shoot क्यामेरा भन्ने गरिन्छ। यस्ता क्यामेरा सस्तो हुनुका साथै सबै खालका प्रयोजनका निम्ति उपयुक्त हुने गर्दछ। तर यदि तपाई फोटोग्राफीमा रुचि राख्नु हुन्छ र निकै नै राम्रो गुणस्तरका फोटोहरू खिच्न चाहनुहुन्छ भने तपाईका निम्ति SLR डिजिटल क्यामेरा उपयुक्त हुन सक्छ। व्यावसायिक फोटोग्राफरहरूले प्रयोग गर्ने ठूलो खालको क्यामेराहरू यस्तै SLR क्यामेराहरू हुन्। पहिला पहिला यस्ता SLR डिजिटल क्यामेरा निकै नै महंगो हुनुका साथै प्रयोग गर्न पनि गार्‍हो हुने गर्दथ्यो, तर अचेल यस्ता क्यामेरा निकै नै सस्तो हुदै आइरहेका छन्। सामान्य point and shoot क्यामेरा भन्दा केही महंगो भएतापनि यदि तपाईलाई फोटोग्राफीमा रुचि छ भने SLR क्यामेरा किन्नु नै राम्रो हुन्छ।

Zoom
कुनै पनि फोटो किन्दा क्यामेराको zoom ले पनि निकै फरक पार्ने गर्दछ। zoom भन्नाले टाढाको वस्तुलाई दूरबिन जस्तै ठूलो पारेर फोटो खिच्न सक्ने खुबी लाई जनाउछ। पुराना रिल हाल्ने क्यामेरामा एकै प्रकारको zoom हुने गर्दथ्यो भने अचेलका डिजिटल क्यामेरामा दुई प्रकारका zoom हुने गर्दछन् - optical zoom र digital zoom। डिजिटल क्यामेराका धेरै खरिदकर्ताहरूलाई यी दुई प्रकारका zoom ले झुक्याउने गर्दछ। वास्तवमा optical zoom भन्नाले क्यामेराको असली zoom लाइ बुझाउँछ भने digital zoom भन्नाले डिजिटल फोटोलाई डिजिटल प्रविधिद्वारा आन्तरिक रुपमा ठूलो पार्ने प्रक्रियालाई बुझाउँछ। Digital zoom को प्रयोग गरि ठूलो पारिएको फोटो कदापि राम्रो गुणस्तरको हुँदैन। त्यसकारण क्यामेराको zoom निर्धारण गर्दा digital नभइ optical zoom लाई प्राथमिकता दिनु पर्दछ।

Anti-shake
पुराना पुराना डिजिटल क्यामेराहरूले फोटो खिच्दा क्यामेरा हल्लाएमा फोटोहरू निकै नै बिग्रने गर्दथ्यो, तर अचेलका धेरै क्यामेराहरूमा anti-share नामको सुविधा हुने गर्दछ। क्यामेरा किन्न गइरहनु भएको छ भने anti-shake भएको क्यामेरा किन्नु नै राम्रो हुन्छ।

Review
क्यामेरा किन्दा क्यामेराको review पनि पढ्न छुटाउनु हुँदैन। डिजिटल क्यामेराको review गर्ने इन्टरनेटमा विभिन्न वेवसाइटहरू रहेका छन्। यस्ता वेवसाइटमा गइ क्यामेराकै प्रयोगकर्ताहरूले पठाएका review हरु पढ्दा आफुले किन्न लागेको क्यामेराको बारेको असली जानकारी प्राप्त हुने गर्दछ। त्यसकारण डिजिटल क्यामेरा किन्दा पहिले बजारमा गइ क्यामेराहरू हेरी त्यस क्यामेराहरूको review विभिन्न वेबसाइटहरूमा पढिसकेपछि मात्र कुन क्यामेरा किन्ने भनि निर्णय गर्नु राम्रो हुने गर्छ।

ब्याट्री
डिजिटल क्यामेरामा दुई प्रकारका ब्याट्रीहरु प्रयोग भएको हुन सक्छ। कुनै क्यामेरामा साधारण टर्चको ब्याट्री अर्थात् AA ब्याट्री प्रयोग हुने गर्दछ भने कुनै क्यामेरामा lithium ion ब्याट्री प्रयोग हुने गर्दछ। दुवै प्रकारका ब्याट्रीहरूका आ-आफ्नै फाइदाहरू हुने गर्दछन्। AA ब्याट्री बजारमा जतासुकै पाइने भएकाले किन्न र प्रयोग गर्न सजिलो हुने गर्दछ। तर यस्ता ब्याट्री छिटै सकिने भएकाले चार्ज गरिराख्नु पर्ने वा नयाँ किनिराख्नु पर्ने हुन्छ। Lithium-ion ब्याट्री सबै चार्ज गर्ने खालका हुन्छन् र एक पटक चार्ज गरेपछि लामो समयसम्म टिक्ने पनि हुन्छन्। तर यस्ता ब्याट्री चार्ज गर्नु पर्ने हुनाले यदि तपाइ बिजुली नभएको ठाउँमा जाँदै हुनुहुन्छ भने यस्ता ब्याट्री प्रयोग हुने क्यामेरा उपयुक्त नहुन सक्छ। त्यसैले क्यामेरा किन्नु अगाडि आफ्नो प्रयोग तथा आवश्यकतालाई विचार गर्नु नै बुद्धिमानी हुन्छ।

क्यामेराका अतिरिक्त सामग्रीहरु
डिजिटल क्यामेराहरू किन्दा यसमा प्रयोग हुने memory card संगै नआउन सक्छ। यस्ता क्यामेरा किन्दा memory card छुट्टै किन्नु पर्ने हुन सक्छ। त्यसकारण क्यामेरा किन्ने आफ्नो बजेट निर्धारण गर्दा यस्ता कुराहरूलाई पनि ध्यान पुर्‍याउनु पर्ने हुन्छ। त्यस्तै क्यामेराको खोल तथा ब्याट्री जस्ता अन्य सामाग्रीहरूले पनि क्यामेराको मुल्यमा फरक पार्न सक्छ। यस कुरामा पनि बिशेष ध्यान पुर्‍याउनु पर्ने हुन्छ।

-ज्वलन्त श्रेष्ठ 

Main Menu

September 2008
M T W T F S S
« May    
1234567
891011121314
15161718192021
22232425262728
2930  
Yahoo Messenger
Fatal error: Unknown function: get_ym_status() in /home/sajha/public_html/wp-content/themes/thebluemountain/sidebar.php on line 79